सुस्तामा माटोको बाँध हटाउँदा स्थानीय र भारतीय एसएसबीबीच विवाद

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने विषयलाई लिएर स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। घटनापछि केही समय तनाव उत्पन्न भए पनि प्रशासनको पहलमा अवस्था हाल सामान्य बनेको छ।

स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो कच्ची माटोको बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए। त्यसको विरोधमा स्थानीय बासिन्दा उत्रिएका थिए।

यस घटनाबारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाहिर प्रचार गरिएजस्तो गम्भीर अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार विवाद सामान्य रूपमा निर्माण गरिएको माटोको डिलसँग सम्बन्धित विषय हो र अहिले परिस्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको छ।

घटनापछि सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको तथा दुवै पक्षबीच छलफल गरी तत्कालका लागि विवाद साम्य पारिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए। उनले सीमासम्बन्धी यस विषयमा सम्बन्धित निकायबीच आगामी दिनमा पनि समन्वय र आवश्यक छलफल जारी रहने बताए।