झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

झापा ।आर्थिक वर्ष २०८२/८३ मा झापाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै दमकमा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा ६, हल्दिबारी गाउँपालिकामा ५, झापा गाउँपालिकामा २ र भद्रपुर नगरपालिकामा १ जनामा रोग पुष्टि भएको छ।

बरालका अनुसार स्क्रब टाइफस सङ्क्रमित माइट (किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो। समयमै उपचार नभए यसले ज्यानै जाने जोखिमसमेत निम्त्याउन सक्छ।

यस रोगका प्रमुख लक्षणमा उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुने तथा किराले टोकेको स्थानमा कालो दाग देखिनु पर्दछन्।

सङ्क्रमणबाट बच्न खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने तथा घर वरपरको वातावरण सफा राखेर झाडी बढ्न नदिने जस्ता सावधानी अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ।