काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीले मुलुकका ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने तयारी गरिरहेको बताएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई थप समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
थापाले निर्वाचन जित्ने मात्र नभई निर्वाचित जनप्रतिनिधिलाई प्रभावकारी रूपमा शासन सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय र प्रदेश तहमा नेतृत्व गर्न इच्छुक तथा योग्य व्यक्तिहरूको पहिचान गरी पार्टीको अभियानमा जोड्न आग्रहसमेत गरे।
उनले भने, “हामी मेयर, उपमेयर र वडा अध्यक्षका सम्भावित उम्मेदवारलाई व्यवस्थित रूपमा प्रशिक्षित गर्न चाहन्छौँ। नेतृत्वका लागि राम्रो नियत मात्र पर्याप्त हुँदैन। पदमा पुग्ने व्यक्तिले ऐन–कानुन, सार्वजनिक नीति, सार्वजनिक वित्त र सीमित स्रोत–साधनको प्रभावकारी परिचालनबारे आधारभूत ज्ञान राख्नुपर्छ।”
उनका अनुसार संगठनबाट सिफारिस गरिएका योग्य व्यक्तिहरूकै आधारमा आगामी स्थानीय तह निर्वाचनका लागि सक्षम र योग्य उम्मेदवार छनोट गरिनेछ।







