काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई वर्तमान समयको प्रमुख सुरक्षा चुनौतीका रूपमा औँल्याएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता अविनारायण काफ्लेले सामाजिक सञ्जालमार्फत फैलिने गलत (मिसइन्फरमेसन) र भ्रामक (डिसइन्फरमेसन) सूचनाका कारण साम्प्रदायिक, जातीय तथा धार्मिक सद्भावमा नकारात्मक असर पर्ने जोखिम बढ्दै गएको बताए।
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा वित्तीय तथा साइबर अपराधका घटनामा उल्लेखनीय वृद्धि भएको छ। प्रमुख १० प्रकारका अपराधको विश्लेषण गर्दा साइबर स्क्यामिङका घटना सबैभन्दा बढी देखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
उनले समयमै समन्वय, निगरानी र रोकथाम गर्न नसकिए साना देखिने गतिविधिले पनि गम्भीर सुरक्षा चुनौतीको रूप लिन सक्ने हालैका घटनाले देखाएको उल्लेख गरे। सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुने जोखिमलाई नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ सम्बोधन गरिरहेको उनले बताए।
यस्ता चुनौती न्यूनीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालयले विशेष कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको प्रवक्ता काफ्लेले जानकारी दिए। अपराध नियन्त्रण र रोकथामका लागि प्रहरी प्रशासन सुरुदेखि नै सचेत रहेको र तय गरिएको कार्ययोजनाअनुसार प्रभावकारी रूपमा अघि बढ्ने उनले बताए।







