नक्कली प्याकिङमा भेटेरिनरी औषधि बिक्री भइरहेको भन्दै आधिकारिक आयातकर्ता कान्तिपुर भेटको चेतावनी

काठमाडौं । भेटमुलिन ८०% र भेन्कासिन २५ % नामक भेटेरिनरी औषधि नक्कली प्याकिङमा बजारमा अनधिकृत रूपमा बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भएको भन्दै यी औषधिका आधिकारिक आयातकर्ता कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराएको छ।

कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बुल्गेरियामा उत्पादित “भेटमुलिन ८०%” तथा भारतमा उत्पादित “भेन्कासिन २५%” औषधिहरू नेपाली बजारमा नक्कली प्याकिङमा अनधिकृत रूपमा उपलब्ध भएको जानकारी प्राप्त भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा ती औषधि खरिद गर्दा कान्तिपुर भेट डिस्ट्रिब्युटर्ससँग सम्पर्क गरी उत्पादनको प्रमाणीकरण तथा आधिकारिकता यकिन गरेपछि मात्र खरिद तथा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।

कम्पनीले नक्कली प्याकिङ भएका औषधिको खरिद वा बिक्री–वितरणबाट कुनै समस्या उत्पन्न भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित खरिदकर्ता वा विक्रेता रहने समेत स्पष्ट पारेको छ।