काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
एनपीएलको पहिलो संस्करणमा पनि रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर उनले टी२० क्रिकेटका ११२ खेलमा १ हजार ७९२ भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट १४० भन्दा माथि छ।
भाइटालिटी ब्लास्टमा मात्रै जैबले १ हजार ६०० भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट–आर्म बलिङसमेत गर्ने उनले टी२० क्रिकेटमा २३ विकेट लिएका छन्। पछिल्लो समय भाइटालिटी ब्लास्ट र ‘द हन्ड्रेड’मा समेत सहभागिता जनाएका जैब उत्कृष्ट लयमा छन्।
टोलीमा पुनरागमन गर्न पाउँदा उत्साहित रहेको जैबले भनेका छन्, ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु।’
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले जैबको पुनरागमनले टोली थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।
उनले भने, ‘जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौं। नेपाली कन्डिसनमा म्याच विनरका रूपमा आफूलाई प्रमाणित गरिसकेका जैबबाट यसपटक पनि पहिलो संस्करणकै जस्तै योगदानको अपेक्षा गरेका छौं। पहिलो उपाधि जित्ने हाम्रो लक्ष्यमा उनको भूमिका महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं।’
रोयल्सले एनपीएल २०२६ का लागि कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो।
अक्सनमार्फत भने टोलीले दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको थियो।






