काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो।
रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
उनीहरूबिच पार्टी र सरकारबिच समन्वयका विषयमा कुराकानी केन्द्रित भएको रविनिकट एक नेताले जानकारी दिए।
पछिल्लो समय अनेकौँ मुद्दामा बालेन र रविबिच समस्या देखिँदै आएको छ। रवि पक्षले बालेन सचिवालयको घेरामा सीमित रहेको आरोप लगाइरहेको छ। रविनिकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन्।
खासगरी जनजीविकाको सवालमा सरकारले ठिकसँग काम गर्न नसकेको उनीहरूको भनाइ छ।
सभापति रवि लामिछानेले नै सरकारले गडबडी गरे कानमा समातेर ट्रयाकमा ल्याउने अभिव्यक्ति दिएका छन्।
उता बालेन पक्ष भने रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरेका कारण रुष्ट छ। गत शुक्रबार राति प्रधानमन्त्री बालेनले फेसबुकमा ‘एक्लिएको’ संकेत गरेका थिए।
त्यसैले उनीहरूको पछिल्लो भेटलाई बढ्दो तिक्तता मेट्ने प्रयासका रुपमा हेरिएको छ।







