झापुटारमा खानेपानीको समस्या

कात्तिक १, तनहुँ ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।

आयोजनाको काम गर्दा र केही दिन अघि परेको वर्षातपछि गएको पहिराका कारण खानेपानीमा क्षति पुगेपछि बेलटार र झापुटार बजार क्षेत्रका बासिन्दाले पानीको समस्या भोग्नुपरेको हो ।

धारामा पानी नआएपछि बञ्चरे भन्ने स्थानबाट एक घण्टाको पैदल हिँडेर पानी ल्याउनुपरेको स्थानीय कालीमाया थापाले बताइन् । ‘टाढाबाट पानी बोकेर घरव्यवहार चलाउन गाह्रो पो हुँदोरहेछ’, उनले भनिन् ।

यसक्षेत्रमा करिब पाँच सय घरधुरीका मानिस पानीको समस्या झेल्दै आएका छन् । स्थानीयवासीले खाँदै आएको पानीको पाइप आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो ।

खानेपानी अवरुद्ध भएपछि आयोजनाले ट्याङ्करमार्फत वितरण गर्ने पानी टाठाबाठाले त एक दुई गाग्री पानी थाप्न पाउँछन् तर अन्य भने कुँवाको पानी पिउन बाध्य रहेको स्थानीय टेकबहादुर गर्जामगरले बताए । झापुटारमा निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाले एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न सुरुङ निर्माणको लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको हो ।

एक महिना अघिदेखि करिब दुई सय मिटर खानेपानी पाइपमा क्षति भएपछि स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएको दीपेन्द्र शाहीले बताए । उक्त खानेपानी क्षेत्रमा भएको क्षतिको विवरण तयारी गरी लागत इष्टिमेट गर्ने कार्य भैरहेकाले तत्काल पानी पुनः सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

बस्तीदेखि करिब दुई किलोमिटर दुरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या भएको हो । यसै कारण आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरे पनि पर्याप्त मात्रामा पाउन नसकेको स्थानीवासीको गुनासो छ ।

तनहुँ हाइड्रोको सहयोगमा किस्रिडी रोह्ङसिंडी खानेपानी योजना सञ्चालन हुँदै आए पनि लामो समयदेखि पानी अवरुद्ध हुँदा स्थानीयवासीले लामो दूरीबाट पानी बोकेर खानु परेको छ ।

आयोजनालाई पटक–पटक खानेपानीको विषयमा जानकारी गराएपनि बेवास्ता गरिएकाले स्थानीयले पानीको समस्या भोग्नुपरेको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापालको भनाइ छ । आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाको धेरै माग रहेकोले प्राथमिकताको आधारमा क्रमिक रुपमा पूरा गर्दै जाने योजना रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।