बुल्दीखोला पुलको जोखिम हट्यो

कात्तिक १, तनहुँ ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने बुल्दीखोलामाथि राखिएको फलामको रेलिङ भाच्चिँदा जोखिमयुक्त रेलिङको मर्मत सम्भार गरिएको छ ।

पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केहि रेलिङ भाच्चिएर उक्त पुलबाट खसेर दुई पैदलयात्री सख्त घाइते भएपछि बिहीबारदेखि नै मर्मत कार्य थालिएको थियो ।

मानिस साँझ बिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मत सम्भारको लागि कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

रेलिङ भत्केर समयमा मर्मत नहुँदा भदौको १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा अचानक खस्दा उनको एक खुट्टा भाँचिएको थियो । बेवारिसे अवस्थामा रहेका उनको स्थानीयवासीले आर्थिक सङ्कलन गरेर पोखरामा खुट्टाको अप्रेशन गरी फर्किएका थिए ।

व्यास नगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा १५ हजार रकम सङ्कलन गरी उनको उपचार गरिएको हो । (रासस)