पत्रकार किशोर श्रेष्ठलाई राक्षसको उपमा दिँदै उपसभामुखको गालीगलाैज

उपसभामुख रुविकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठलाई राक्षसको उपमा दिएकी छन् । गए राति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठको गिरफ्तारीलाई लक्षित गर्दै उपसभामुख ठाकुरले सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गरेकी हुन् ।

पत्रकारिताको भेषमा श्रेष्ठले महिलाहरूलाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोप लगाउँदै उपसभामुख ठाकुरले सोधेकी छन्, ‘यो राक्षसलाई के गर्ने ?’

‘यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौँ महिला दिदिबहिनीको चरित्र हत्या गरेको छ । यसको जनआस्था पत्रकार आचार संहिताविपरीत रहेको छ’, ठाकुरले फैसबुकमा लेखेकी छन् ।

यद्यपि उनले यो पोस्ट अहिले हटाए पनि सामाजिक सञ्जालमा स्क्रिनशट छ्याप्छ्याप्ती छ । धेरैले उपसभामुख ठाकुरले पदको मर्यादा र गरिमा कायम राख्न नसकेको टिप्पणी गरेका छन् ।

आज अदालतमा पेस गरिँदै

यसैबीच जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई आज अदालतले पेस गरिने भएको छ । बुधबार ललितपुरबाट पक्राउ परेका उनालाई आज अदालतमा पेस गरिन लागेको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो । बिहीबार अदालतमा पेस गर्छौं ।’

जनआस्थाले हालै सत्ताधारी रास्वपाका एक सांसदको युवतीसँगको अन्तरंग तस्वीर सार्वजनिक गरेको थियो । सोही विषयमा प्रहरीमा उजुरी परेपछि श्रेष्ठ पक्राउ परेका बताइएको छ ।