काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।
हाल कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली भूभागमा साधारणतया बादल लागेको छ। पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार दिउँसो कोशी प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





