नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कारोबारमा समस्या नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको दैनिक कारोबार तथा सञ्चालनमा कुनै प्रकारको जटिलता उत्पन्न नभएको स्पष्ट पारेको छ।

बैंकका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषय आफ्नो जानकारीमा आएको जनाउँदै राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापनबारे नजिकबाट अनुगमन गरिरहेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार हाल बैंकको तरलता अवस्था तथा वित्तीय सबलताका सूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या उत्पन्न हुने अवस्था नरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यलाई आधार बनाएर थप छलफल तथा कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ। आवश्यकताअनुसार कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने पनि राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले २०८३ साउन २८ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो।