मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम – रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने गलत धारणाका कारण मधेस प्रदेशमा रगतको अभाव हुन थालेको छ। रक्तसञ्चार केन्द्रहरूमा पर्याप्त रगत मौज्दात नहुँदा बिरामी तथा उनीहरूका आफन्तलाई आवश्यक रगत जुटाउन कठिनाइ भइरहेको छ।

रगतको अभावलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहानगरपालिका–१७ ले बिहीबार जनकपुरधाममा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तसञ्चार केन्द्रको समन्वयमा भएको कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्।

रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपा मधेस प्रदेश संगठन विभागका उपप्रमुख अम्बुप्रसाद साहले बताए। कार्यक्रममा संकलित रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोका अनुसार जनकपुरधामस्थित रक्तसञ्चार केन्द्रमा एक सातादेखि रगतको अभाव छ। उनका अनुसार केन्द्रमा अहिले एक–दुई पोका मात्रै रगत मौज्दात छ भने दैनिक ४० देखि ५० जनासम्म बिरामी रगतको खोजीमा आउने गरेका छन्।

‘बिरामीहरू जसरी पनि रगत उपलब्ध गराइदिनुपर्‍यो भन्दै आउनुहुन्छ, तर रगत नभएपछि समस्या भइरहेको छ,’ अध्यक्ष महतोले भने।

रक्तदाताको संख्या घटेसँगै मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामअन्तर्गत रहेको प्रदेश रक्तसञ्चार केन्द्रमा पनि रगतको मौज्दात घट्दै गएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चार केन्द्रमा हाल करिब ३० पोका मात्र रगत मौज्दात रहेको छ।

स्वास्थ्यकर्मी तथा रक्तसञ्चार केन्द्रहरूले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन्। उनीहरूले रक्तदान गर्दा शरीरमा दीर्घकालीन कमजोरी नहुने भएकाले स्वस्थ व्यक्तिले आवश्यकताअनुसार रक्तदान गर्न सक्ने बताएका छन्।