समयमै पहिचान र उपचार गरे क्यान्सर निर्मूल हुन सक्छ : डा. उज्ज्वल चालिसे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सर रोग प्रारम्भिक चरणमै पहिचान गरी उचित उपचार गर्न सके धेरै अवस्थामा पूर्णरूपमा निको पार्न सकिने बताएका छन् ।

डा. चालिसेले सामाजिक सञ्जालमार्फत क्यान्सरको अवस्था र प्रकृतिअनुसार समयमै उपचार सुरु गर्न सके रोग नियन्त्रणमा ल्याउन सकिने बताएका हुन् ।

उनका अनुसार अधिकांश ठोस क्यान्सरमा शल्यक्रियामार्फत रोगको मूल कारण हटाउने प्रयास गरिन्छ भने केही प्रकारका क्यान्सरमा विकिरण उपचारबाट पनि पूर्ण उपचार सम्भव हुने गर्छ । रोग शरीरका अन्य भागमा फैलिसकेको अवस्थामा भने विकिरण उपचार, औषधीय उपचार, प्रतिरक्षा उपचार तथा सहायक उपचार विधिहरू प्रयोग गरिने उनले बताए ।

डा. चालिसेले क्यान्सरको उपचारमा ढिलाइ र प्रमाणित नभएका उपचार विधिको पछि लाग्दा बिरामीले समय र धन दुवै गुमाउने जोखिम रहेको औंल्याएका छन् । उनले गलत सूचना र अप्रमाणित उपचारका कारण प्रारम्भिक अवस्थामै निको हुन सक्ने क्यान्सर जटिल अवस्थामा पुग्ने गरेको बताए ।

उनले क्यान्सरको शंका लाग्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गई आवश्यक परीक्षण गराउन र विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार अघि बढाउन आग्रह गरेका छन् ।

डा. चालिसेले अस्पताल तथा स्वास्थ्य संस्थाबाहिर बिरामीलाई विभिन्न अप्रमाणित उपचारको प्रलोभन देखाउने व्यक्तिहरूबाट सचेत रहन पनि सुझाव दिएका छन् । उनले प्रमाणित उपचार पद्धतिलाई प्राथमिकता दिन र भ्रमपूर्ण उपचार गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।