प्रदेश नं. २ मा १२ हजार भन्दा बढी संक्रमणमुक्त

कात्तिक १, जनकपुर ।
प्रदेश नं. २ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुनेको संख्या १२ हजार नाघेको छ । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६ सय २० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार दुई सय ७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६ सय २० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार दुई सय ७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा कोभिड–१९ महामारीले एक सय ५९ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६ सय ८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयको भनाइ छ ।

गत चैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको थियो । चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ ।

भदौमा मात्रै पाँच हजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झाको भनाइ छ ।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार नौ सय १९, असारमा एकहजार आठ सय ९७ र साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको अभिलेख छ । त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क अभिलेखले देखाएको छ । (रासस)