काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको छ।
हाल देशभर सामान्यतया बदली भएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थान तथा बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ।
गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा धेरै स्थान तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
रातिको समयमा पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा बागमती, गण्डकी, मधेस र कोशीका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसम पूर्वानुमानसम्बन्धी नियमित सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ।







