काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागप्रति सरकारले उदासीनता देखाएको आरोप लगाउँदै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत पूर्ण रूपमा रोक्का गरिनेछ। यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत सङ्घले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो।
जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि भोलिदेखि सम्पूर्ण काम–कारोबार ठप्प पार्ने निर्णय गरिएको सङ्घले जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले प्रक्रिया पूरा भएका श्रमिकलाई उडान गराउन एक साताअघि नै सबै म्यानपावर कम्पनीलाई सर्कुलर जारी गरिएको बताए। उनका अनुसार आज राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइने भए पनि त्यसपछि भने उडानसमेत पूर्ण रूपमा रोक्ने निर्णय भएको छ।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे कुनै ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रालयस्तरीय टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता हुन नसकेको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको सङ्घले आरोप लगाएको छ।
भोलिदेखि काठमाडौँस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा कार्यालय बन्द रहनेछन्। त्यस्तै, वैदेशिक रोजगारीका लागि नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबार समेत बन्द गरिने सङ्घले जनाएको छ।
सङ्घका महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगरिने स्पष्ट पारिएको छ। वार्ता र संवादका लागि ढोका खुला रहेको जनाउँदै सङ्घले सरकारबाट ठोस कदम नआएसम्म काममा नफर्कने अडान दोहोर्याएको छ।
सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्नसमेत निर्देशन दिएको छ। सङ्घको निर्णय अवज्ञा गरी काम सञ्चालन गर्ने संस्थाको अभिलेख राखिने र भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गरिनुका साथै आगामी समीक्षा भेलामार्फत कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।







