आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ। यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने परम्परा छ।

यस वर्ष जेठमा अधिकमास परेकाले सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प तथा बिच्छीलगायत जीवबाट हुने दुःखबाट बच्नुका साथै अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास छ।

नागपूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए पानीको अभाव हुने विश्वास रहेकाले पानीको सन्तुलन कायम राख्न र नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताए।

सनातन परम्परामा नागलाई भगवान् विष्णु र शिवसँग पनि जोडेर हेर्ने गरिन्छ। भगवान् शिवले नागको माला धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने भएकाले नागलाई दुवै देवतासँग सम्बन्धित मानेर पूजा गरिन्छ। त्यसैगरी, प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको हातमा नाग रहेको तथा रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागकै अवतार मानिने धार्मिक विश्वास छ। भगवान् बुद्ध तथा जैन तीर्थङ्करका मूर्तिहरूमा समेत सर्पाकार आकृति देखिने गरेको पाइन्छ।

नागपञ्चमीसँग सम्बन्धित विभिन्न किंवदन्ती पनि प्रचलित छन्। तीमध्ये एक किंवदन्तीअनुसार एक किसानले खेत खन्दा नागका तीन बच्चा मरेपछि नागिनीले किसानको परिवारलाई सखाप पारिन्। किसानकी छोरीले नागिनीको षोडशोपचार विधिले पूजा गरी दूध चढाएर प्रसन्न पारेपछि नागिनीले वरदान दिँदै किसानका मृत परिवारलाई पुनर्जीवन दिएकी थिइन्। किसानको परिवारलाई जीवनदान दिएको दिन श्रावण शुक्ल पञ्चमी रहेकाले त्यसै समयदेखि नागपूजा गर्ने परम्परा सुरु भएको जनविश्वास छ।

वैज्ञानिक दृष्टिले पनि नाग तथा सर्पलगायतका जीवले प्रकृतिमा रहेका विभिन्न विषालु पदार्थ र जीवजन्तुको संख्या नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले ऋषिमुनिहरूले नागजातिको संरक्षण र सम्मानका लागि पूजा गर्ने परम्परा बसालेको मानिन्छ।

नागपञ्चमीका अवसरमा आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ। नागपञ्चमीसँगै सनातन धर्मावलम्बीहरूको चाडपर्वको याम सुरु भएको मानिन्छ।