काठमाडौँ -लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, सडक भासिने तथा नदी कटानका कारण नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको छ। सोही गाउँपालिकाको लिपीङमा सडक भासिएपछि दुवै स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको छ। यसका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।
रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डले जाजरकोटलाई डोल्पासँग जोड्छ।
त्यसैगरी, सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको छ। अविरल वर्षाका कारण पहिरो खसेपछि सो सडकखण्डमा आवागमन प्रभावित भएको हो।
म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुक्सेमा पनि सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने र नदी कटानको जोखिम बढेको भन्दै प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त सडकखण्डमा आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन आग्रह गरिएको छ।







