काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर

काठमाडौँ -काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

सोमबार पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा खानीखोला गाउँपालिका–२ का पातलीमाया मोक्तान र ताराबहादुर माझीका बुबा कलबबहादुर माझीको मृत्यु भएको छ। जिपमा सवार ताराबहादुर माझी भने हाम फालेर ज्यान बचाउन सफल भएका छन्। उनी सामान्य घाइते छन्।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर झिकाउने प्रयास भइरहेको छ।

घटनास्थलमा उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली खटिँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।

प्रारम्भिक अनुमानअनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।