काठमाडौं । प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त मिति तय गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
यो व्यवस्था बाध्यकारी रहे पनि यसअघि प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै प्रश्न उठ्दै आएको थियो । नियमावलीमा तोकिएको दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
नियम ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई गराउनुपर्नेछ ।
नियम ५९ अनुसार प्राप्त प्रश्न स्वीकारयोग्य भए–नभएको निर्णय गर्ने अधिकार सभामुखलाई हुनेछ । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ ।
त्यसैगरी, नियम ६० मा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा कुनै छलफल गर्न नपाइने व्यवस्था गरिएको छ ।
सभामुखले भदौ १० गतेका लागि मिति निर्धारण गरेसँगै लामो समयदेखि कार्यान्वयनमा प्रश्न उठ्दै आएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको हो।






