काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा विभिन्न चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन्।
त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सभामा पेस गर्नेछिन्।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
कानुनमन्त्री गौतमले नै संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि सभामा पेस गर्ने कार्यसूची रहेको छ।







