लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ । उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु गरिएको हो ।

खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिलो हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित छ । स्थानीय बुझाइअनुसार ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु हो । यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । पर्वका क्रममा घोडा दौड, स्थानीय नाचगान, खानपान तथा विभिन्न सांस्कृतिक गतिविधि आयोजना गरिन्छ ।

लोमान्थाङमा आयोजित पर्वको पहिलो दिन मुस्ताङी २६औँ सांस्कृतिक राजा जिग्मे परवल विष्टको उपस्थितिमा कार्यक्रम सुरु भएको थियो । तीन दिनसम्म चल्ने पर्वको दोस्रो दिन मङ्गलबार मुस्ताङी सांस्कृतिक राजा–रानीको उपस्थितिमा कार्यक्रम गरिनेछ भने अन्तिम दिन लोमान्थाङका विभिन्न गुम्बाका लामाको उपस्थितिमा धार्मिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

लोमान्थाङ–५ का वडाध्यक्ष लाक्पा वाङ्दी गुरुङका अनुसार यार्तुङ पर्वको पहिलो दिन मुस्ताङी सांस्कृतिक राजाको भूमिका विशेष महत्वपूर्ण हुन्छ ।

पर्वको पहिलो दिन लोमान्थाङ बजारबाट करिब दुई किलोमिटर टाढा घोडा दौड आयोजना गरिएको थियो । घोडा दौडका क्रममा स्थानीय चार समाजले बाटोमा राखेका मिठो रोटी, याकको टाउकोको आकृति, प्लास्टिकका ऐना तथा च्याङ्ग्राको खुर ढुङ्गाले हानेर फुटाउने सांस्कृतिक परम्परासमेत प्रदर्शन गरिएको स्थानीय भिछिरिङ गुरुङले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको यार्तुङको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिका तथा एक्यापले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापनमा सहयोग गर्दै आएको बताए ।

पछिल्लो समय युवाहरू विदेशिने क्रम बढ्दै गएपछि स्थानीय परम्परा र संस्कृति संरक्षण गर्न पर्वलाई व्यवस्थित, मर्यादित र सभ्य रूपमा मनाउन जोड दिइएको उनको भनाइ छ ।

यार्तुङ पर्वको पहिलो दिन स्वदेशी तथा विदेशी पर्यटकसमेत लोमान्थाङ पुगेर पर्वको अवलोकन गरेका थिए । पर्वका अवसरमा विदेशी पर्यटकको उपस्थिति बढ्दै गएको स्थानीयले बताएका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म मनाइने विभिन्न चाडपर्वमा घोडचढी संस्कृति महत्वपूर्ण मानिन्छ । यार्तुङ पर्वको प्रमुख आकर्षण भनेकै घोडा दौड हो । घोडचढीबिना स्थानीय चाडपर्व अपूरो हुने स्थानीय भिछिरिङ गुरुङले बताए ।

आयोजकका अनुसार यार्तुङ पर्वको दोस्रो दिन घोडा दौड प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले दुई लाख ५० हजार, द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।