काठमाण्डौ । भरतपुर महानगरपालिका–१ मा रहेको ऐतिहासिक दियालो बङ्गला अवलोकन गर्न गत आर्थिक वर्षमा २५ हजार ४२५ जना पुगेका छन्।
अवलोकनकर्तामा भारत र चीनका पर्यटकसमेत रहेको भरतपुर महानगरपालिकाले जनाएको छ। अवलोकनकर्तामध्ये १६९ जना ज्येष्ठ नागरिक र एक हजार ५३३ जना विद्यार्थी रहेका छन्। २०८१ असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गला अवलोकनबाट गत आवमा २४ लाख ५८ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
संकलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रस्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले प्राप्त गर्ने व्यवस्था छ। नेपाल ट्रस्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुला गरिएको हो।
दियालो बङ्गला अवलोकनका लागि ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिका लागि ५० रुपैयाँ, स्वदेशी अन्य पर्यटकका लागि १०० रुपैयाँ र विदेशी पर्यटकका लागि २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
ऐतिहासिक महत्व बोकेको दियालो बङ्गला तत्कालीन राजपरिवारले विशेषगरी जाडो महिनामा लामो समय बिताउने स्थलका रूपमा परिचित छ। राजपरिवार चितवनमा सिकार खेल्न आउँदा यही बङ्गलामा बस्ने गरेको बताइन्छ।
बङ्गलाको पहिलो तलामा रहेको ठूलो बैठक कक्षमा तत्कालीन राजा महेन्द्र र वीरेन्द्रका तस्वीर राखिएका छन्। भर्याङमा राजा महेन्द्रले विसं २०२६ मा सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ। बङ्गलाका भित्तामा बाघको टाउकोसमेत संरक्षित अवस्थामा राखिएको छ।
दरबारमा पाँचवटा खोपी अर्थात् शयनकक्ष रहेका छन्। पहिलो खोपी मुमा रत्नराज्यको, दोस्रो राजा र तेस्रो रानीको रहेको बताइन्छ भने चौथो र पाँचौँ खोपी राजपरिवारका अन्य सदस्यका लागि प्रयोग हुने गरेका थिए। प्रत्येक खोपीसँगै शौचालयको व्यवस्था छ।
राजपरिवारले प्रयोग गरेका विभिन्न सामग्री अझै पनि बङ्गलामा सुरक्षित छन्। बङ्गलाको छेउमा राजपरिवारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ तथा सुरक्षा गार्डका लागि एडीसी क्वार्टर रहेको छ। त्यस्तै, केही पर सवारीसाधन राख्न ग्यारेज र त्यसको छेउमा पौडी पोखरी रहेको छ। हाल भने पोखरीमा पानी छैन।







