काठमाडौं । नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
साविक मखनाहा गाउँ विकास समिति–६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
आयोगबाट यसअघि नै नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालयले ५७ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।
पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। यससँगै उनीहरूको वर्षौंदेखिको जग्गाधनी पुर्जा प्राप्त गर्ने प्रतीक्षा पनि पूरा भएको छ।







