वैदेशिक रोजगारीमा जान साउन महिनामा ७० हजारले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जान साउन महिनामा ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्।

साउनमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् भने ‘जीटुजी’ प्रक्रियामार्फत ७ सय १२ जना वैदेशिक रोजगारीमा गएका छन्।

गन्तव्य मुलुकमध्ये साउनमा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्।

यसअघि असार महिनामा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए। साउनमा भने अघिल्लो महिनाको तुलनामा १ हजार ७९ जना बढीले श्रम स्वीकृति लिएका छन्।

विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।