काठमाडौँ – मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ। छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उनको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले पुष्टि गरेका छन्।
लक्ष्मी बडु उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुन्। दुर्घटनामा रजिस्ट्रार बडु पनि घाइते भएका छन्। उनको थप उपचारका लागि हेटौँडाबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका रजिस्ट्रार बडु र जिप चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरीलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कोर्पियो जिप बिहान जुरिखेतमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याइएको थियो।
सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी ३१ वर्षीया छोरी रिता बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनका २५ वर्षीय छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
बडु परिवार बैतडीको दशरथचन्द नगरपालिका–७, सुर्कालका स्थानीय हुन्।







