विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी भदौ ५ गते शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिएका हुन्।
सांसद भण्डारीका अनुसार सत्ता साझेदार दल परिवर्तन भएकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि नेकपा सरकारमा सहभागी भइसकेकाले नैतिक आधारमा विश्वासको मत लिन लागिएको उनको भनाइ छ।
सोमबार नयाँ मन्त्रीहरूको शपथपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए।
यता, सरकारलाई समर्थन दिँदै आएको नेपाली कांग्रेसले भने अहिलेसम्म समर्थन फिर्ता लिएको छैन। कांग्रेसले बुधबार संसदीय दलको बैठक बोलाएर यस विषयमा औपचारिक निर्णय गर्ने भएको छ। कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि कांग्रेससँग आग्रह गरिसकेका छन्।
थापाले विगतमा प्रतिनिधिसभामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रमुख प्रतिपक्षी बनेर बसेको उदाहरण दिँदै कोशी प्रदेशमा पनि त्यस्तै अवस्था आउन सक्ने बताएका छन्।
यद्यपि, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने बुधबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने बताएका छन्। अर्कोतर्फ, सत्ता साझेदार नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा मंगलबार नै छलफल हुने जानकारी दिएका छन्।
मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। गत साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा सोमबार प्रदेश सरकारमा सहभागी भइसकेको छ।







