काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई पुनः पक्राउ गर्न खोजिएको भन्दै पक्राउ रोक्न मागसहित उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् ।
श्रेष्ठले पक्राउबाट रोक्न माग गर्दै रिट दायर गरेको उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सोमबार श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको थियो । उपसभामुख रुबीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध ललितपुर जिल्ला प्रहरी परिसरमा साइबर कसुरअन्तर्गत जाहेरी दिएकी थिइन् ।
उक्त जाहेरीका आधारमा प्रहरीले पछिल्लो दुई दिनदेखि जिल्ला अदालत ललितपुरमा श्रेष्ठलाई पक्राउ गर्न अनुमति माग्दै आएको छ । तर, पर्याप्त प्रमाण तथा कागजात नपुगेको भन्दै अदालतले हालसम्म पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छैन ।
श्रेष्ठले आफ्नी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतबाट भएको रिहाइको परमादेशसमेत जानकारी गराउँदै उच्च अदालतमा निवेदन दिएका हुन् ।
जिल्ला अदालतबाट पुनः पक्राउ पुर्जीको अनुमति लिन सक्ने आशंका व्यक्त गर्दै उनले आफूलाई पक्राउ गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन् ।







