सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन् । त्यसपछि उनले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाउन आग्रह गरेका थिए ।

मुख्यमन्त्रीको पत्रअनुसार प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि विश्वासको मत प्रयोजनका लागि बुधबार प्रदेशसभा बैठक बोलाउने निर्णय गरिसकेको छ ।