नारायणगढ (चितवन) ।चितवनको खैरहनी नगरपालिका क्षेत्रमा लगाइएको बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोगका प्रारम्भिक लक्षण देखिन थालेपछि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नगरपालिकाकी कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका लक्षण देखिएका छन् । हालसम्म रोग व्यापक रूपमा फैलिएको अवस्था नरहे पनि छिटफुट रूपमा देखिन थालेकाले किसानलाई नियमित रूपमा खेतको निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
“अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामी खेतमै पुगेर रोगको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भन्नुभयो ।
राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण फेद डढुवा रोग लाग्ने गर्दछ । रोगको सुरुआती अवस्थामा पातको फेदमा अन्डाकार खैरो–हरियो धब्बा देखिन्छन् । प्रकोप बढ्दै जाँदा ती धब्बा फैलिँदै गएर पूरै बोट डढेको जस्तो देखिने कृषि अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार रोग माटोबाट समेत सर्न सक्ने भएकाले धान रोप्नुअघि जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । नगरपालिकाले अनुदानमा उपलब्ध गराउने जैविक विषादी प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै, बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न सुझाव दिइएको छ ।
धान अत्यधिक बाक्लो रोप्न नहुने र युरिया मल मात्र बढी प्रयोग नगरी सन्तुलित रूपमा मलखादको प्रयोग गर्नुपर्ने कृषि शाखाले जनाएको छ । रोगको सुरुआती अवस्थामै पहिचान गरी उचित व्यवस्थापन गर्न सके यसको प्रकोप फैलिनबाट रोक्न सकिने बताइएको छ ।
रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८.२ प्रतिशत र डाइफेनोकोनाजोल ११.४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीमा मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ ।
खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरु भएको छ । हरेक वर्ष धानबालीमा देखिने फेद डढुवा रोगको जोखिम यस वर्ष पनि रहेकाले समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो ।
यसैगरी, धानमा मरुवा (ब्लास्ट) रोगको जोखिमसमेत रहेकाले फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले अनुरोध गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा पनि समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।
खैरहनी नगरपालिकामा हाल बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । धानखेतीका लागि अनुकूल मानिने यस क्षेत्रमा धानमा बाला निस्कने समयसँगै रोगको जोखिमसमेत बढ्ने भएकाले किसानलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।







