चिनीको मूल्य बढेपछि आयात शुल्क घटाउने भारतको तयारी

काठमाडौ  । विश्वको दोस्रो ठूलो चिनी उत्पादक भारतले घरेलु बजारमा चिनीको मूल्य उच्च दरमा बढेपछि आयात शुल्क घटाउने वा पूर्ण रूपमा हटाउने विकल्पमा छलफल अघि बढाएको छ।

भारत सरकारले हाल चिनी आयातमा लगाउँदै आएको १०० प्रतिशत शुल्क घटाउने वा हटाउने प्रस्तावमाथि विचार गरिरहेको स्रोतहरूले बताएका छन्। घरेलु बजारमा आपूर्ति बढाएर मूल्य नियन्त्रण गर्ने उद्देश्यले यस्तो तयारी गरिएको हो।

छलफल गोप्य रहेकाले स्रोतहरूले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको जनाइएको छ।

भारतमा चिनीको माग आगामी चाडपर्वको मौसमसँगै थप बढ्ने अपेक्षा गरिएको छ। अगस्टको अन्त्यदेखि जनवरीसम्म परम्परागत मिठाई, प्रशोधित खाद्य पदार्थ तथा पेय पदार्थको खपत बढ्ने भएकाले चिनीको माग उच्च हुने गर्छ।

महाराष्ट्रमा कारखानाबाट बजारमा पठाइने चिनीको मूल्य हालै प्रतिकिलो ४६ भारतीय रुपैयाँ पुगेको छ। इन्डियन सुगर एन्ड बायो–एनर्जी म्यानुफ्याक्चरर्स एसोसिएसनका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।


भारतमा चिनी उत्पादनका लागि महत्वपूर्ण मानिने उखु खेतीमा यस वर्ष कमजोर मनसुनको असर परेको छ। भारत मौसम विज्ञान विभागका अनुसार मनसुन वर्षा सामान्यभन्दा १३ प्रतिशत कम रहेको छ। जुनको अन्त्यतिर वर्षाको कमी ४० प्रतिशतभन्दा बढी थियो, जसका कारण केही बालीको रोपाइँसमेत प्रभावित भएको थियो।

यसैबीच, विश्व बजारमा समेत चिनीको आपूर्तिलाई लिएर चिन्ता बढेको छ। एल निनो मौसम प्रणालीका कारण विभिन्न प्रमुख उत्पादक देशमा उत्पादन प्रभावित हुन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेको छ।

भारतका प्रमुख उखु उत्पादक राज्य उत्तर प्रदेश र महाराष्ट्रका चिनी कारखानाहरूले समेत आगामी सिजनमा उखु पेल्ने कार्य सामान्यभन्दा १० देखि १५ दिनअघि सुरु गर्ने तयारी गरेका छन्। यसबाट बजारमा चिनीको आपूर्ति बढाउने सरकारको लक्ष्य छ।

मूल्य नियन्त्रण तथा कृत्रिम अभाव रोक्न भारत सरकारले व्यापारीहरूले भण्डारण गर्न पाउने चिनीको परिमाणमा समेत सीमा तोकेको छ। भारतले सामान्यतया घरेलु खपतका लागि ठूलो परिमाणमा चिनी आयात गर्दैन। पछिल्लो पटक सन् २०१७÷१८ मा भारतले उल्लेख्य परिमाणमा चिनी आयात गरेको थियो।

भारतको कृषि मन्त्रालयका अनुसार अगस्ट १४ सम्म देशभर करिब ५८.३ लाख हेक्टर क्षेत्रफलमा उखु रोपाइँ भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा केही कम हो।