कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ ।

मतदानको सम्पूर्ण तयारी पूरा हुन नसकेपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो ।

महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो । तयारी पूरा नभएपछि निर्वाचन समितिले मतदानको समय दिउँसो १ बजेसम्म सारेको थियो ।

तर, १ बजे पनि मतदान सुरु हुन नसक्ने भएपछि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरी दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति गरेको छ । उपसभापतिका समावेशी उम्मेदवार रञ्जित कर्णका अनुसार २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो।