कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने तयारीमा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि देउवा पक्षले अदालत जाने तयारी गरेको हो। सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षका नेता मीन विश्वकर्माले बताएका छन्।

विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी भइरहेको छ। उनले सम्भव भएसम्म बुधबार नै अदालत जाने र नभए एक–दुई दिनभित्र प्रक्रिया अघि बढाउने बताए।

यसअघि देउवा पक्षको भेलाले वर्तमान सभापति गगन थापालाई सभापति स्वीकार नगर्ने र १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो।

त्यस्तै, कांग्रेसको इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाएका थिए।

यता, सभापति गगन थापाले भने निर्धारित मितिमै महाधिवेशन हुने अडान दोहोर्याउँदै आएका छन्। उनले पार्टीभित्र असन्तुष्ट समूहलाई समेत समेट्ने उद्देश्यले महाधिवेशन कार्यतालिका केही पछाडि सारेका थिए।