काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीसँगको परामर्शपछि सरकारले सरकारी निकायमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगलाई स्वदेशी वस्तु तथा सेवा प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको हो ।
स्थानीय सीप तथा उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी निकायमा स्वदेशी उत्पादनको प्रयोग बढाउन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
निर्देशनअनुसार अब सरकारी निकायले स्टेसनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ । यस्तै, सरकारी बैठक, समारोह तथा विभिन्न अवसरमा प्रदान गरिने कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न भनिएको छ ।
सरकारी खरिद प्रक्रियामा समेत स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने पत्रमा उल्लेख छ । सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
स्वदेशी उत्पादन प्रयोगसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन भए–नभएको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।






