झापा। झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
विशेषज्ञ चिकित्सक थपिनु, प्रसूति सेवाको गुणस्तरमा सुधार आउनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या बढेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । आर्थिक वर्ष २०८१/८२ मा भने ७८७ जनाले मात्रै उक्त सेवा लिएका थिए । त्यस्तै, आव २०८०/८१ मा प्रसूति सेवा लिनेको सङ्ख्या ८१९ थियो ।
गत आवमा अस्पतालबाट ७६५ जनाले सामान्य प्रसूतिमार्फत नवजात शिशु जन्माएका थिए भने ९२२ जनाले शल्यक्रियामार्फत प्रसूति सेवा लिएका थिए । प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनालाई ‘भ्याकुम’ प्रविधिबाट प्रसूति गराइएको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार प्रसूति सेवामा सेवाग्राहीको चाप बढेपछि विशेषज्ञ जनशक्ति थप गरिएको हो ।
यसअघि प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा डा. एलिजा गौतम मात्र कार्यरत रहेकामा गत वर्ष डा. विपा पोखरेल र चालु आर्थिक वर्षको असारदेखि डा. एलिजा भट्टराई थपिएका छन् । हाल अस्पतालमा तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन् ।
अस्पताल प्रशासनका अनुसार सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै उपचारको गुणस्तरमा सुधार आएपछि स्थानीय तथा आसपासका क्षेत्रका महिलाहरू निजी स्वास्थ्य संस्थाको विकल्पमा प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिन आकर्षित भएका छन् ।







