यसरी बरामद भयो २३ किलो सुन

कात्तिक २, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको तेस्रो तलाको कोठा नं. ३०३ । यहीँबाट प्रहरीले शनिबार २३ किलोभन्दा बढी सुन र दुई किलो बढी चाँदी बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तलाई प्राप्त सूचनाको आधारमा दुई दिनसम्म रेकी गरेर छापा हानेको टोलीले कुल २२ केजी पाँच सय ७६ ग्राम सुनका बिस्कुटहरु, पाँच सय ७६ ग्राम सुनका गरगहना र दुई केजी दुई सय ६२ ग्राम चाँदीको गरगहना तथा भाँडाकुँडा बरामद गरेको हो ।

एसपी गंगा पन्तका अनुसार कोही आउलान् र व्यक्तिसहित घरमा भएको अवैध सामग्री बरामद गरौँला भनेर प्रहरी टोली बसेको थियो ।

तर छरछिमेकसँग गरिएको सोधपुछबाट पनि फ्याल्टमा कमै मात्र मानिस आउने गरेको पाइएपछि शनिबार एसपी पन्तको नेतृत्वमा विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले अपार्टमेन्टको ढोका फुटाएको थियो ।

एसपी पन्त भन्छिन्, ‘कोही नआउने थाहा पाएपछि स्थानीय जनप्रतिनिधिलाई बोलाएर ताला फोडिएको हो ।’ हाल सुन कहाँबाट आएको थियो र कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछिन् ।

मक्किएको दराजभित्र राखिएको थियो सुन
अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार अपार्टमेन्टको तेस्रो तलामा अवैध सामान रहेको सूचना प्रहरीसँग थियो । ढोका फोडेर ‘सर्च अपरेशन’ चलाउँदा देखिएको कोठाको अवस्थाले त्यहाँ धेरै दिनदेखि कोही प्रवेश नगरेको देखिन्थ्यो ।

दुई वटा लिभिङ रुम, एउटा पुजा कोठा, भान्छा र बाथरुम भएको अपार्टमेन्टमा एक व्यक्तिको परिवारका तस्वीरहरु पनि टाँगिएका थिए । कतिपयमा धुलैधुलो लागेका थिए ।

सुरक्षागार्डले बताएअनुसार अपार्टमेन्टमा अशोक सिन्हा नाम गरेका व्यक्ति परिवारसहित बस्ने गरेका थिए । भित्तामा देखिएका तस्वीरमा देखिने व्यक्ति पनि सिन्हा नै भएको गार्डले पुष्टि गरे ।

सिन्हाको फोटो टाँगिएको एउटा लिभिङ रुमको पश्चिमतिर भित्तामा जोडिएको काठको दराज थियो । दराज खोल्न खोज्दा त्यहाँ पनि चाबी लगाइएको भेटिएको थियो । प्रहरीले एक जना चाबी खोल्ने व्यक्तिको मद्दत नै लिनु पर्र्यो ।

दराजको काठ समेत मक्किसकेको पाइएको थियो भने केही भागमा किरा लागेको भेटिएको थियो । तर त्यही दराजमा सुनका हार, औंठी, सिक्री, बालासहित गरी ६ सय ८१ ग्राम सुन भेटिएको थियो । एउटै गहना १५ तोलासम्मका थिए ।

‘धेरै समयदेखि दराज नखोलेको देखिएपछि शंकास्पद नलागेर त्यतिवेला गहना त्यहीँ छाडेर बन्द गरेका थियौँ’, एक प्रहरी अधिकारीले भने, ‘तर, अन्तिममा हाम्रो नजर सिलिङ र दराजबीचमा रहेको करिब ६ इञ्ज खाली ठाउँमा पर्यो ।’

स्रोतका अनुसार प्रहरी टोलीले मोबाइलको क्यामराले फोटो खिचेर हेर्दा साबुन जस्तो वस्तु देखिएको थियो ।

त्यसपछि प्रहरी अधिकारीले हातले छुँदा त्यो वस्तु गहकिलो पाएपछि एउटा निकालेर हेरिएको थियो । त्यसक्रममा कार्बनले बेरेर प्लास्टिकमा टेप लगाएर राखेको अवस्थामा सुनको विस्कुट भेटियो । र अपार्टमेन्टमा सुन लुकाइएको पर्दाफास भयो ।

एसपी पन्तका अनुसार सबै सामान झिकेर हेर्दा १३ वटा एक किलोको सुनको विस्कुट, मझौला खाले सुनका बिस्कुट ४६ वटा, १०० ग्रामको सुनको विस्कुट १० थान वटा गरी २२ किलो पाँच किलो ७६ ग्राम धातु भेटिएको थियो । परीक्षणका क्रममा बरामद धातु सुन नै भएको पुष्टि भएको थियो ।

त्यसपछि प्रहरीले दराजमा भेटिएका गरगहना र थाल लगायतका भाडाकुँडा गरेर थप दुई सय ६२ ग्राम सुन पनि बरामद गरेको छ । बरामद गरिएको सुन र चाँदीको बजार मूल्य २० करोड रुपैयाँभन्दा बढी रहेको प्रहरी बताउँछ ।

केही दिनअघि आउने युवती को थिइन् ?
सुन बरामद भएसँगै अनुसन्धानमा खटिएका अधिकारीले अपार्टमेन्ट मालिकसँग सम्पर्क गरेर फ्याल्ट धनीबारे खोजी गरेको थियो । तर, शनिबार भएकाले उनी प्रहरी सम्पर्कमा आइसकेका छैनन् ।

हालसम्म प्राप्त विवरणले फ्याल्ट धनी को हुन् भन्ने देखिनसके पनि त्यहाँ लामो समयदेखि सिन्हा नै बस्ने गरेको पुष्टि भइसकेको छ । सोही घरमा बस्ने अन्य व्यक्तिले पनि अपार्टमेन्टमा सिन्हा बस्ने पुष्टि गरिसकेका छन् ।

तर उनले वीरगञ्जका अन्य व्यक्तिको नाममा अपार्टमेन्ट लिएको हुनसक्ने आशंका गरिएको छ । छिमेकीका अनुसार सिन्हाको अपार्टमेन्टमा केही दिनअघि एक युवती आएकी थिइन् । त्यसअघि दई जना युवक पनि कहिले काँही आउने गरेको पाइएको छ ।

उनीहरु को थिए भन्ने खुलिनसके पनि सिन्हाको आफन्त हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले गरेको सोधपुछका क्रममा सिन्हा भारतको पूर्वी चम्पारण हरैयाका स्थायी वासिन्दा भएको खुलेको छ भने केही वर्ष अघिसम्म उनी भारतको रक्सौल भन्सारमा कस्टम क्लियरिङ एजेन्टको काम गर्ने गरेको पाइएको छ । पछिल्ला दुई वर्षदेखि भने प्यारालाइसिसको बिरामी रहेको वीरगञ्जका एक सुन व्यवसायी बताउँछन् ।

उनका अनुसार हाल सिन्हाका दुई आफन्तले भन्सार एजेन्टको रुपमा काम गरिरहेका छन् ।

कालो धन लुकाउने प्रयास ?
शनिबार पर्सा प्रहरीले पत्रकार सम्मेलमा सार्वजनिक गरेको बरामद सुन हेर्दा तीन प्रकारको ढिक्का देखिन्छ ।

एउटा एक किलो, मझौला सुनको विस्कुट र अर्को सय ग्रामको पिस बरामद भएको छ । दोस्रो र तेस्रो किसिमको विस्कुट पछिल्लो समय बजारमा नआउने गरेको वीरगञ्जका व्यवसायीहरु बताउँछन् ।

‘त्यस्तो ढिक्का आउने छाडेको ५÷६ वर्षभन्दा बढी नै भइसक्यो’, उनीहरू भन्छन् । त्यसैले बरामद सुन केही पहिलादेखि राखिएको स्टक हुनसक्ने आशंका गरिएको छ ।

अझ रोचक विषय सिन्हाका दाइ प्रमोदकुमार बिहार विधानसभाको निर्वाचनमा उम्मेदवार छन् ।

बुझिएअनुसार उनी रक्सौल विधानसभा–१० मा भारतीय जनता पार्टी (विजेपी) तर्फबाट उम्मेदवार छन् । तेस्रो चरण अर्थात नोभेम्बर ७ मा उनको क्षेत्रमा निर्वाचन हुँदैछ । सिन्हाको पृष्ठभूमि पनि त्यति राम्रो नभएको व्यवसायी बताउँछन् । त्यसैले उनले कमाएको कालोधनलाई सुनमा परिणत गरेर राखेको हुनसक्ने पनि विश्लेषण गरिएको छ ।

छिमेकीहरुका अनुसार सिंन्हा भने झण्डै दुई दशकदेखि नेपाल बसिरहेका थिए । विरामी भएदेखि उनी नेपाल छिरेका छैनन् । रक्सौलतिर बस्ने ठाउँ त्यति राम्रो नभएकाले सिन्हा नेपाल बसेको हुनसक्ने छिमेकीहरुको अनुमान छ ।