महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।

देउवा र खड्काको तर्फबाट कानून व्यवसायीहरूले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। नेता मीन विश्वकर्माका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको दाबी छ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउवा पक्षले उक्त कार्यतालिका रोक्न अन्तरिम आदेशसमेत माग गरेको हो।

यसअघि देउवा पक्षको भेलाले पनि पार्टीको आधिकारिकता विवाद समाधान नभएसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउनुपर्ने धारणा राख्दै पूर्वसभापति देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।