काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका आफ्ना विवरण जाँच गरी आवश्यक परे सच्याउन तथा अद्यावधिक गर्न नागरिकलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन आयोगले नियमित रूपमा नामावली अद्यावधिक गर्दै आएको छ ।
सोही क्रममा हाल कायम मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज १ गते आयोगको वेबसाइटमार्फत मतदाता नामावली प्रकाशन गरिने भएको छ ।
आयोगले प्रकाशित नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगानालगायत विवरणमा त्रुटि भए सच्याउन आग्रह गरेको छ । त्यस्तै, कसैले झुट्टा विवरण पेस गरी मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा त्यससम्बन्धी विवरण पनि सच्याउन सकिने आयोगले जनाएको छ ।
कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एउटै स्थानमा मात्र कायम गर्न तथा बसाइँसराइ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएको अवस्थामा सोहीअनुसार विवरण अद्यावधिक गर्न पनि आयोगले अनुरोध गरेको छ ।
मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिक निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि महत्वपूर्ण हुने भन्दै आयोगले नागरिकलाई आफ्नो विवरण जाँच गरी त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण भए सच्याउन आग्रह गरेको छ । आयोगले यस कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको छ।







