काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ ।
शुक्रबार डार्विनस्थित डीएक्सी एरेनामा भएको खेलमा नेपाल एले दिएको १२३ रनको लक्ष्य एनटी स्ट्राइकले १५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
एनटी स्ट्राइकका लागि जोर्डन सिल्कले अविजित ४२ रन बनाए भने दोत्जी होगनबोजमले ३७ बलमा अविजित ४० रनको योगदान गरे । नेपालका पवन सर्राफले एनटीका दुवै विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन बनाए । लोकेश बमले १६ तथा नारायण जोशीले १५ रन जोडे ।
एनटी स्ट्राइकका बलरले नेपाललाई ठूलो स्कोर बनाउन दिएनन् । एनटीका एक बलरले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए भने टम मेन्जिस, साम बार्कर, विलियम ब्लेयर र डार्सी शर्टले समान १–१ विकेट लिए ।
नेपालले अब सिरिजको दोस्रो खेल शनिबार बंगलादेशको हाइ पर्फर्मेन्स टोलीविरुद्ध खेल्नेछ।






