काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।






