झापा ।पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँको कृषिउपज सामग्री नेपाल भित्रिएको हो।
आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उनले बताए। भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ।
यस्तै अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलियाबाट ७९६ मेट्रिक टन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्यमात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी रु तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्याङ्क छ।
फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा रु १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ।







