‘नाडा अटो शो’ गाडी देखाउने मेला मात्रै होइन, अटो उद्योगको भविष्य देखाउने मञ्च हो’

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनी ‘नाडा अटो शो–२०२६’ यही भदौ ९ देखि १४ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

नाडाको ५०औँ वर्ष तथा अटो शोको १८औँ संस्करणका रूपमा आयोजना हुन लागेको यसपटकको प्रदर्शनीलाई विगतभन्दा फरक र समग्र अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रतिनिधित्व गर्ने गरी अघि बढाइएको नाडाका महासचिव मिलनबाबु मल्लले बताए।

उनका अनुसार करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० बैंक तथा वित्तीय एवं बीमा कम्पनी र ७० वटा पार्टपुर्जासम्बन्धी स्टल रहनेछन्।

प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी), दुईपांग्रे तथा चारपांग्रे सवारी, कमर्सियल भेहिकल, स्पेयर पार्टस्, टायर, ब्याट्री, चार्जिङ प्रविधि, स्मार्ट मोबिलिटी र कनेक्टिभिटीसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ। नयाँ मोडल सार्वजनिक गर्नुका साथै रोबोटिक्स तथा ‘मेड इन नेपाल, मेड फर नेपाल’ लगायतका आकर्षणसमेत रहने मल्लले बताए।

पछिल्ला वर्षमा नेपाली अटोमोबाइल बजारमा ईभीको प्रवेश तीव्र बनेको उल्लेख गर्दै मल्लले ईभी अब भविष्यको नभई वर्तमानको सवारीसाधन बनिसकेको बताए। विभिन्न ब्रान्डका नयाँ मोडल र प्रविधिको उपस्थितिले नेपाली उपभोक्ता नयाँ प्रविधि स्वीकार गर्न तयार रहेको देखाउने उनको भनाइ छ।

यद्यपि, ईभीको रेन्जका विषयमा उपभोक्ताले कम्पनीको दाबी र वास्तविक प्रयोगबीच फरक पाउने गरेको उनले बताए। सडकको अवस्था, तापक्रम, ट्राफिक, गाडीको लोड तथा ड्राइभिङ शैलीले सवारीको रेन्ज प्रभावित गर्ने भएकाले खरिदअघि वास्तविक प्रयोगको अनुभव र प्राविधिक विवरण बुझ्न उनले उपभोक्तालाई आग्रह गरे।

उनका अनुसार नयाँ ब्रान्ड र मोडलको आगमनले बजारमा प्रतिस्पर्धा बढाउने र त्यसको लाभ उपभोक्ताले पाउनेछ। अटो शोमा एउटै स्थानमा विभिन्न ब्रान्ड र मोडल तुलना गर्नुका साथै कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष जानकारी लिन सकिने उनले बताए।

विश्व अटोमोबाइल उद्योग एआई, स्मार्ट कनेक्टिभिटी र एड्भान्स्ड ड्राइभिङ सिस्टमजस्ता प्रविधितर्फ अघि बढिरहेको भन्दै मल्लले नेपालमा पनि यस्ता प्रविधि क्रमशः भित्रिने बताए। त्यसका लागि डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र उपभोक्ताको प्रविधिमैत्री क्षमता विकास आवश्यक रहेको उनको भनाइ छ।

नेपालमा गाडी उत्पादन तथा एसेम्ब्लिङको सम्भावना रहेको बताउँदै उनले दीर्घकालीन र स्थिर सरकारी नीति आवश्यक रहेको बताए। उत्पादनमूलक उद्योगका लागि पूर्वाधार, कर तथा भन्सारमा स्थिरता, लगानीको सुरक्षा र बजार सुनिश्चित गर्न सके नेपालमा अटोमोबाइल उत्पादनको आधार तयार गर्न सकिने उनले बताए।

अटोमोबाइल उद्योगलाई केवल राजस्व संकलनको क्षेत्रका रूपमा हेर्न नहुने उनको भनाइ छ। यस क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै बैंकिङ, बीमा, सर्भिस सेन्टरलगायत धेरै क्षेत्रलाई चलायमान बनाउने भएकाले सरकारबाट स्थिर र पूर्वानुमान गर्न सकिने नीति आवश्यक रहेको उनले बताए।

मल्लले नाडाको ५० वर्षको यात्रा नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको उल्लेख गर्दै अब प्रविधि, रोजगारी, लगानी र उपभोक्ता हितका विषयमा संस्थाले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए।

उनले ‘नाडा अटो शो’ गाडी प्रदर्शन गर्ने मेला मात्रै नभई नेपालको अटोमोबाइल उद्योगको भविष्य बुझ्ने मञ्चका रूपमा विकास गर्न खोजिएको बताए। नयाँ गाडी खरिद गर्न चाहने, अटोमोबाइलमा रुचि राख्ने तथा नयाँ प्रविधिबारे जानकारी लिन चाहने सबैलाई प्रदर्शनीमा सहभागी हुन उनले आग्रह गरे।