हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री थापाको आफ्नै दल नेकपा एमालेले पनि प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
यता, सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने विवाद कायमै छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै आफ्ना प्रदेशसभा सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।
तर, सरकारमा सहभागी राप्रपाका खानेपानीमन्त्री राजु विष्टले तामाङलाई सरकार गठन हुनुअघि नै प्रमुख सचेतकको जिम्मेवारीबाट हटाइएको दाबी गरेका छन्। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतक पदबाट हटाएको उनको भनाइ छ।
नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत ४ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्तिसँगै राप्रपाले पार्टी केन्द्रको निर्णयविपरीत सरकारलाई समर्थन गरेको विषयमा पार्टीभित्र विवाद चर्किएको थियो।
पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीसमेत गरिसकेको छ। सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई पनि पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ।
राप्रपाका १२ जना प्रदेशसभा सदस्यले आजको बैठकमा गर्ने उपस्थिति र मतदानको निर्णयलाई मुख्यमन्त्री थापाले विश्वासको मत पाउने–नपाउने विषयमा महत्वपूर्ण मानिएको छ।







