चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमाथि निर्माण गर्ने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन।

पुल निर्माणका लागि २०७९ वैशाखमा सम्झौता भए पनि अहिलेसम्म आयोजनास्थलमा निर्माणसम्बन्धी कुनै काम अघि नबढेको स्थानीयवासीले बताएका छन्। बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको सीमामा पर्ने घटमुनामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले ठेक्का प्रक्रिया अघि बढाएको थियो।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र एआर चन्द्र ग्रुप जेभीबीच रु चार करोड एक लाख २२ हजार ४८४ मा पुल निर्माणको सम्झौता भएको थियो। निर्माण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धतासहित रु ३५ लाख पेस्कीसमेत लिएको थियो।

तर सम्झौताको लामो समय बितिसक्दा पनि निर्माण सुरु नभएको गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो। उहाँका अनुसार पुल नहुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै वर्षायाममा यातायातसमेत प्रभावित हुने गरेको छ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटकपटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले काम अघि नबढाएको बताउनुभयो।

सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म करिब १२ किलोमिटर दूरी छ। गाउँपालिकाको केन्द्र पुग्न दुईवटा नदी पार गर्नुपर्ने अवस्था छ। मार्तडी नजिकैको बाहुली खोलामा पनि सडक डिभिजन कार्यालय, साँफेबगरले यसअघि पुल निर्माणका लागि ठेक्का आह्वान गरे पनि काम अघि बढ्न सकेको छैन।

घटमुनामा पुल निर्माण सम्पन्न भए गौमुलवासीलाई आवतजावतमा सहज हुनुका साथै बाजुराबाट बझाङसम्म पुग्ने छोटो सडकमार्ग सञ्चालनमा समेत सहयोग पुग्ने स्थानीय गणेश रोकायाले बताउनुभयो।

हाल मार्तडी–गौमुल करिब १२ किलोमिटर सडकखण्डमध्ये छ किलोमिटर सडक कालोपत्र गर्ने काम सुरु भएको छ। उक्त काम प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत भइरहेको छ।

स्थानीय धनबहादुर रोकायाका अनुसार सडक कालोपत्रसँगै दुवै नदीमा पक्की पुल निर्माण भएको भए एक वर्षभित्रै गौमुल गाउँपालिका सदरमुकाम मार्तडीसँग सहज सडक सञ्जालमा जोडिन सक्ने थियो। तर पुल निर्माण सुरु नहुँदा स्थानीयवासीले अझै पनि सास्ती खेप्नुपरेको उहाँको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पुल निर्माणका लागि सम्झौता भएको लामो समयसम्म पनि काम सुरु नभएपछि अहिले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

बाजुरामा सडक, पुललगायत ठूला विकास आयोजनाको सम्झौता लामो समय बितिसक्दा पनि निर्माण सुरु नहुने तथा सुरु भएका आयोजना बीचमै अलपत्र पर्ने प्रवृत्तिले स्थानीयवासीले वर्षौंदेखि समस्या भोग्दै आएका छन्।