ग्रामीण कृषि सडक चार महिनापछि सञ्चालनमा

कात्तिक २, मुग्लिन ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका ग्रामीण पहाडी भेगमा सडक विस्तार गर्ने क्रम चलिरहेको छ । धेरैजसो बस्तीमा सडक पुगे पनि वर्षात् शुरु भएपछि यहाँ सडक प्रायः बन्द हुने गर्छन् ।

यसपटक पनि गत असारबाटै यहाँका अधिकांश सडक वर्षासँगै झरेको पहिरोले अवरुद्ध हुनपुग्यो । केही सडकमा अझै सवारी गुड्न सकेका छैनन् ।

तर गत असारदेखि बन्द रहेको साविकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय रहेको ढुङ्ग्रे गाउँ जोड्ने वडा नं ६ स्थित जलविरे–चण्डीभञ्ज्याङ ग्रामीण कृषि सडक शनिबारबाट पूर्णरूपमा सञ्चलानमा आएको छ । वर्षाका कारण पहिरो झरेर चार महिनादेखि अवरुद्ध रहेको उक्त सडक करिब तीन हप्ताको प्रयासपछि शनिबारदेखि सञ्चालन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।

लामो समयदेखि उक्त सडक अवरुद्ध हँुदा याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्डे, ढुङ्ग्रेलगायत स्थानीयवासीलाई आवतजावत गर्न कठिन भएको थियो । यहाँका बासिन्दाले उब्जाएका तरकारी बजार लैजान नपाउँदा किसान मारमा परेका थिए ।

इच्छाकामना गाउँपालिकाको पहलमा अवरुद्ध भएका कृषि सडक दशैँ अगाडि नै सञ्चालनमा ल्याइएपछि स्थानीयवासीलाई सहज भएको स्थानीय लोक गुरुङले बताए । उनले भने, ‘अवरुद्ध सडक सञ्चालन भएसँगै यहाँका बासिन्दाले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारसम्म लैजान सहज हुने भएको छ । विशेषगरी दशैँमा चामललगायत धेरै सामान पनि बजारबाट गाउँ ल्याउनुपर्ने हुन्छ ।’

गाउँपालिका अध्यक्ष गुरुङले वर्षायाममा अवरुद्ध भएका सबै ग्रामीण सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन गाउँपालिकाले पहल गरिरहेको जानकारी दिइन् ।

अध्यक्ष गुरुङले भनिन्, ‘गाउँपालिकाका ग्रामीण भेगका सबै अवरुद्ध सडक सञ्चालन गराउनका लागि धमाधम काम भइरहेको छ । दशैँअघि सबै सडकको पहिरो हटाएर यातायात सञ्चालन गरिने छ ।’

उनका अनुसार धेरैजसो अवरुद्ध सडकको पहिरो हटाएर यातायात सञ्चालन भइसकेका छन् । (रासस)