काठमाडौं । बारा जिल्लाकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न भनिएका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
बयानका क्रममा बयान कक्षमै खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको थियो । भिडियोमा किशोरले घटनाबारे विवरण दिइरहेको देखिन्छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा भिडियो खिच्ने व्यक्तिबाटै उक्त सामग्री बाहिरिएको हुनसक्ने देखिएपछि ती प्रहरीलाई पक्राउ गरिएको हो । बारा प्रहरीका एसपी नरेन्द्र कुँवरले भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका प्रहरीविरुद्ध फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको छ ।
भिडियो खिच्ने क्रममा पाँच जना प्रहरीको उपस्थिति देखिएको बताइएको छ । घटनामा संलग्न अन्य प्रहरीमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







