मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो।

सभामुख अम्बरबहादुर विष्टका अनुसार प्रस्तावको पक्षमा ५७ मत, विपक्षमा २२ मत र ४ मत तटस्थ परेको छ। प्रदेशसभामा तत्काल कायम सदस्य संख्या ८३ रहेकामा सबै ८३ जना सांसद बैठकमा उपस्थित थिए।

मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले मतदान गरेका थिए। यससँगै कार्कीले प्रदेश सरकारको नेतृत्वका लागि आवश्यक विश्वासको मत कायम राखेका छन्।