काठमाडौं । नेपालकै ठूला भेटेरिनरी औषधि आपूर्तिकर्ता तथा वितरकमध्ये एक कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले घोषणा गरेलगत्तै नेपाली भेटेरिनरी औषधि उत्पादक कम्पनीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पशुपन्छीको उद्धार तथा उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गर्न थालेका छन्।
यसै क्रममा नवलपरासीस्थित सिटिजन फार्मास्युटिकल्सले पनि विज्ञप्ति जारी गर्दै भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गरेको छ।
बाढी तथा पहिरोका कारण मानव जीवनसँगै पशुपन्छीमा समेत प्रत्यक्ष असर परेको अवस्थालाई मध्यनजर गर्दै सिटिजन फार्माले प्रभावित क्षेत्रका पशुपन्छीको प्राथमिक उपचारका लागि आवश्यक औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।
भोटेकोशीमा आएको बाढीपछि सुरुमा कान्तिपुर भेटले पशु औषधिका लागि सहयोगको घोषणा गरेको थियो। त्यसपछि अन्य पशु औषधि कम्पनीहरूबाट समेत प्रभावित पशुपन्छीको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने घोषणा आउने क्रम सुरु भएको छ।
यसैबीच, नेपाल भेटेरिनरी एसोसिएसनको आज बसेको केन्द्रीय समितिको बैठकले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खटिनका लागि एक्सन टिम गठन गर्ने तथा आवश्यकताअनुसार स्वयंसेवक परिचालनका लागि आह्वान गर्ने निर्णय गरेको छ।
प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार तथा आवश्यक औषधि व्यवस्थापनका लागि निजी क्षेत्रका औषधि उत्पादक तथा वितरक र पशु चिकित्सकहरूको सक्रियता बढ्दै गएको छ।








