भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ७ हजार ४१५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ७४२ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

प्राधिकरणका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रमा २३९ वटा हेलिकप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको छ। तीमध्ये नेपाली सेनाका हेलिकप्टरबाट २११ वटा र निजी क्षेत्रका हेलिकप्टरबाट २८ वटा उडान भएका छन्।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण तथा व्यवस्थापनको काम पनि निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक अध्ययनअनुसार बुधबार बिहान ८ः४० बजे नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा हिम–चट्टानसहितको पहिरो गएपछि ल्हेन्दे खोलामा गेग्रानसहित ठूलो बाढी आएको हो।

तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम उत्पन्न भएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा खोज, उद्धार र राहतको काम जारी रहेको प्राधिकरणले जनाएको छ।